काठमाडौं । कान्ति बाल अस्पतालमा सामान्यदेखि जटिल शल्यक्रियासम्मका शुल्क सहजै हेर्न सकिने भएको छ । अस्पतालको शल्यचिकित्सा विभागले अप्रेशनमा लाग्ने शुल्कसहितको विवरण सूचना पाटीमा प्रकाशित गरेको छ । उक्त सूचना पाटीमा अस्पतालमा गरिने विभिन्न प्रकारका शल्यक्रियालाई वर्गीकरण गरी लाग्ने शुल्क समेत समावेश गरिएको छ । अस्पतालले नागरिक बडापत्रमै शल्यक्रिया शुल्क सार्वजनिक गरेको हो ।
अस्पतालले ८ प्रकारका शल्यक्रियाको वर्गीकरण गरेर शुल्क सार्वजनिक गरेको छ जसअनुसार माइनर ए, माइनर बी, इंटरमीडिएट ए, इंटरमीडिएट बि, मेजर ए, मेजर बि, भेरी मेजर ए, भेरी भेजर बी पर्छन् । यी ८ प्रकारका शल्यक्रिया अन्तर्गत विभिन्न ७८ वटा शल्यक्रिया प्रक्रियाको शुल्क उल्लेख छ ।
यसका साथै सामान्य शल्यक्रिया अन्तर्गत (ए) र (बी) वर्गीकरण गरेका छ, जसमा (ए) को एक हजार आठ सय र बी को ३ हजार रुपैयाँ शुल्क रहेको छ ।
यस्तै, मध्यम खालको शल्यक्रियाको ६ हजार रुपैयाँ र ७ हजार २ सय रुपैयाँ शुल्क छ । जटिल शल्यक्रियाको १२ हजार रुपैयाँ र १४ हजार ४ सय रुपैयाँ शुल्क छ । यसैगरी, अति जटिल शल्यक्रियाको १८ हजार रुपैयाँ र २१ हजार ६ सय शल्यक्रिया शुल्क छ ।