काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका वडा नं. ११ चिति तीनपिप्लेबाट रकम चोरी गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
तिनपिप्लेका गणेश श्रेष्ठको घरबाट नगद चोरी गरी फरार रहेका ३९ वर्षीय हरि रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रानाले श्रेष्ठको घरबाट बुधबार बिहान ३ लाख ७५ हजार १ सय ६० रुपैयाँ चोरी गरी भागेका थिए ।
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नंं ३ घर भएका राना केही वर्षदेखि चिति क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका थिए ।
१२ दिन अघिदेखि उनी श्रेष्ठको घरमा रहेको मिल चलाउने काम गर्दै आएका थिए । मंगलबार बिहान रकम चोरी गरी भागेका थिए । घरबाट रकम चोरी गरेको थाहा पाएपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए ।
रकम चोरी गरी भागेका रानालाई खोजतलास गर्दै जाँदा मंगलबार साँझ ६ बजे दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रानालाई लुकिछिपि हिँडिरहेको अवस्थामा श्रीमञ्ज्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट चोरी गरेको उक्त रकम समेत बरामद गरेको छ । पक्राउ परेका रानालाई बिहीबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिए अनुसन्धान अगाडि बढाइएको छ ।
