काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यही वर्षदेखि बंगलादेशमा बिजुली विक्री थालिने बताएका छन् । आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विद्युत उत्पादन, प्रसार र वितरणमा ८ वर्षमा एक खर्ब रुपैयाँ लगानी भएको जानकारी दिए ।
उनले आम्दानी पनि १ खर्ब रुपैयाँबाट उकालो लागेको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् । घिसिङले भारतको बाटो हुँदै बंगलादेशमा यही वर्षदेखि बिजुली पठाइने बताए । ‘बङ्गलादेशको अवस्था सुधार हुनासाथ विद्युत निर्यात सम्झौता हुनेछ’, उनले भने, ‘यही वर्षभित्र बंगलादेशमा बिजुली निर्यात हुने विश्वास लिएका छौँ।’
वार्षिक १० अर्ब २३ करोड युनिट विद्युत् खपत
घिसिङले नेपालमा विद्युत्को खपत उल्लेखनीय रूपमा बढेको बताएका छन् । उनले भने, “आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ३२ करोड युनिट विद्युत खपत हुने गरेकोमा अहिले १० अर्ब २३ करोड युनिट विद्युत् खपत पुगेको छ ।”
कार्यकारी निर्देशक घिसिङका अनुसार प्रतिव्यक्ति उर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको छ ।
देशलाई समृद्ध बनाउने अभियानमा सफलता मिलेको उनले दाबी गरे । देशमा पर्याप्त निरन्तर विद्युत् आपूर्ति हुँदा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढेको बताए ।
“विद्युतिय सवारी साधनलाई प्रवर्द्धन गर्न प्राधिकरणले आफैँ ६२ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ,” उनले भने ।

