काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्य क्षेत्र सुधारको कार्य योजना सार्वजनिक भएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरू र गर्ने कार्यक्रमहरूका विषयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरू र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्य योजनाहरु तयार पारेको बताएका छन् ।
उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा सुझाव माग गरेको र त्यहाँबाट प्राप्त सुझावहरूलाई समेत समेटेको बताए । त्यस्तै, कार्य योजना तयार पार्नुअघि स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै सुझाव संकलन गरेको उनको भनाई छ ।