काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोक नजिकै आइतबार एक इभि माइक्रो दुर्घटना भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आइतबार बिहान करिब ९ बजेको समयमा लमजुङको सुन्दरबजारबाट चितवनको नाराणघाटतर्फ जाँदै गरेको ग १ ज ८४१६ नम्बरको इभि माइक्रो दुर्घटना हुँदा माइक्रोमा सवार १२ जना मध्य ६ जना घाइते भएका हुन्।राजमार्गमा गुडिरहेको माइक्रो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।
यस अघि शनिबार सुन्दरबजारबाटै चितवन जाँदै गरेको दुई सवारी चिप्लिएका थिए । लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस अनियन्त्रित भई सडकमा पल्टिँदा १३ जना घाइते भएका थिए।