काठमाडौं । नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले माओवादीको सशस्त्र युद्धसँग जोडिएको ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएपछि सदनमा तनावको वातावरण सिर्जना भएको हो।
यसअघि, नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीको सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादीले त्यसप्रति कडा आपत्ति जनाएको थियो। माओवादीले तत्काल बैठक अवरोध गर्न थालेपछि सभामुख घिमिरेले सचिवालयलाई छानबिन गर्न निर्देशन दिएर केही समयका लागि सदनलाई सञ्चालन गराएका थिए।
तर, बुधबार सचिवालयको रायको आधारमा सभामुखले ‘हिंसा’ शब्दलाई असंसदीय नभएको भन्दै हटाउनु नपर्ने निर्णय गरे।
उक्त निर्णयमा असहमति जनाउँदै माओवादीले फेरि अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच तीव्र भनाभन भएको थियो। अन्ततः, स्थिति थप बिग्रन नदिन सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे।