काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई गएराति पोखरा लगिएकाे छ । पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि शनिबार साँझ काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा लगिएकाे हो।
लामिछानेलाई ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि शुक्रबार कास्की जिल्ला अदालतले अनुमति दिएको थियो।अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।
सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो। २७ दिनदेखि जोशी हिरासतमै छन्। शुक्रबार रविलाई पक्राउ गर्नुअघि उनलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
रविलाई पनि शुक्रबारबाटै गणना हुनेगरी अदालतले ५ दिन म्याद थप गर्ने सम्भावना छ। त्यसपछि प्रहरीले उनीमाथि बयान लगायतका अनुसन्धान गर्नेछ। आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।