काठमाडौं । लमजुङ बेसीशहर नगरपालिका वडा नं ११ चितिमा निःशुल्क आँखा शिविर हुने भएको छ । बेसीशहर नगरपालिकाको आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा यही कात्तिक ६ गतेदेखि ८ गतेसम्म शिविर सञ्चालन गर्न लागिएको हो ।
बेसीशहर नगरपालिका वडा नं ११ को व्यवस्थापनमा सञ्चालन हुन लागेको शिविरमा तयारी तीव्र पारिएको वडा अध्यक्ष शिवप्रसाद जोशीले जानकारी दिएका छन् ।
चितिथला स्वास्थ्य चौकीमा सञ्चालन हुने शिविरका लागि आवश्यक तयारीअन्तर्गत शुक्रबार सरोकारवाला निकायका पदाधिकारीसहितको छलफल अन्तरक्रिया कार्यक्रमसमेत गरिएको छ ।
शुक्रबारको भेलाले शिविर सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरेको वडा अध्यक्ष जोशीले बताए । शिविरमा निःशुल्क आँखा परीक्षण, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया लगायतका सेवा उपलब्ध गराइने भएकाले मौकाको फाइदा उठाउन वडा कार्यालयले चितिसहित छिमेकी गाउँका स्थानीयवासीलाई अनुरोध गरेको छ । बेसीशहर नगरपालिकाभित्रका मात्र नभई जिल्लाका जुनसुकै स्थानका नागरिकले समेत सेवा लिन सक्ने जोशीले बताए ।
शिविर मार्फत सेवा लिन चाहने सेवाग्राहीले चितिथला स्वास्थ्य चौकीका प्रमुख कालिका ढकालमार्फत नाम टिपाउन वडा कार्यालयले अनुरोध गरेको छ । दूरदराजमा रहेका आँखाका बिरामीलाई गाउँमै विशेषज्ञसहितको सेवा उपलब्ध गराउने लक्ष्यका साथ शिविर सञ्चालन गर्नै लागिएको वडा अध्यक्ष जोशीले बताए ।
शिविरमा नेपाल आँखा अस्पतालका मेडीकल डाइरेक्टर किरण शाक्य, नेत्र सहायक याङ्ला दोङला शेर्पा, भाग्य नारायण शाह, रुमित श्रेष्ठलगायतको प्राविधिक टोलीले सेवा दिनेछन् ।