काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ६ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।
आयोग स्रोतका अनुसार गएराति आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर, शिव शरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् ।
राजमान महर्जन कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हुन् भने शिव शरण महर्जन माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार हुन् । त्यसैगरी मीन बहादुर मानन्धर काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार हुन् ।
पशुपति कठायत, सम शाक्य पनि कामपा १६ का स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै रोजिना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का उम्मेदवार हुन् ।