काठमाडौं । आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार २०२ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आइतबार ३०३ कम्पनीको २ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको ३४ करोड, हिमालयन पावरको पार्टनरको २९ करोड, सिन्धु विकास बैंकको २९ करोड र हिमालयन रिइन्स्योरेन्सको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उन्नत्ती सहकार्य लघुवित्त, गोल्बल आइएमइ लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट, ग्रामिण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
साथै सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ । त्यसैगरी बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशतले बढेको छ ।