काठमाडौं । शिवरात्रिलाई लक्षित गरेर नेपाल प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर सोमबार रातिबाटै लागू गरेको हो ।
शिवरात्रिमा भक्तजन तथा दर्शनार्थीहरूको भिड हुने भएकाले यस्तो समयमा हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर सुरक्षा योजना बनाएर लागू गरिएको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले बताए । उनका अनुसार एसपीको कमाण्डमा ३ हजार ५ सय बढी प्रहरी परिचालन हुँदैछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमाण्डमा प्रहरी परिचालन गरेको छ । बोहोराको कमाण्डमा तीन सिफ्टमा गरेर ३ हजार ५ सय ११ जना प्रहरी परिचालन हुनेछन् ।
कमाण्ड पोस्टमा परिसरबाट ३१ पुरुष र रानिपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् । सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन् । पशुपति क्षेत्रको सुरक्षाका लागि ३ सिफ्टमा प्रतिसिफ्ट १ हजार २४ जनाका दरले प्रहरी परिचालन गरिने छन् ।
कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोशाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट गरेर ३ हजार ५११ प्रहरी परिचालन हुनेछन् ।
यसरी खटिनेमध्ये परिसरबाट १ हजार ११४ पुरुष र महिला १५३ गरी १ हजार ३०७ जना छन् । रानिपोखरीबाट १ हजार ४३२ पुरुष प्रहरी र ७७२ महिला गरी २ हजार २०४ प्रहरी छन् ।
यो बाहेक ट्राफिक प्रहरी पनि छुट्टै परिचालन हुनेछ ।