काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई कारागार चलान गरेको हो।
उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ। लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए।
आफूविरुद्धको मुद्दामा अदालतले फैसला नगरेसम्म लामिछाने कारागारमै रहने छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम अपचलन गरेको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो। जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो। उच्चको आदेशसँगै जिल्ला अदालतको आदेश बदर भएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ। धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने व्याख्या उच्च अदालतको छ।