काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक भएको छ ।
काभ्रेबाट प्रकाशित ‘नव शिक्षिज साप्ताहिक’ पत्रिकाको २५औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित विशेष कार्यक्रमकाबीच प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव लगायत अतिथिहरुले पुस्तकको सार्वजनिक गरेका हुन् ।
दाहालले पुस्तकमा कृषि, डेरी, शिक्षा तथा समसामयिक विषयमा लेखिएका विविध लेखहरु समावेश गरेका छन् ।
कार्यक्रममा बोल्दै लेखक दाहालले आफ्नो गृह जिल्लामा आएर पुस्तक सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको बताए ।
आगामी दिनमा अझै गहन विषयबस्तु छनोट गरी दोस्रो पुस्तक प्रकाशन गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
यसैबीच पत्रिकाको रजत वर्षको अवसरमा पुस्तकका लेखक दाहाल सम्मानित भएका छन् । विगत लामो समयदेखि नेपालको कृषि, विशेषगरी दुग्ध क्षेत्र, कला, साहित्य, इतिहास र सामाजिक विकासका विषयलाई कलममार्फत उजागर गरेकाले सम्मान गरिएको आयोजकको भनाइ छ । सम्मानले लेखनमा थप सक्रिय बन्न र लेखनलाई परिस्कृत गर्न ऊर्जा मिलेको दाहालले बताए ।