काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएओ) को कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ ।स्वीट्जरल्याण्डको जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७८औँ सम्मेलनबाट नेपाल कार्यकारी समितिको सदस्यमा निर्वाचित भएको हो ।
सम्मेलनमा भाग लिन जेनेभा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमा लेख्दै सो कुरा जानकारी गराएका हुन् । साथै यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको बताए ।
‘जेनेभाबाट अर्को खुशीको खबर । नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ । सबै नेपालीलाई बधाई,’ मन्त्री पौडेलले सामाजिक सञ्जालमा भनेका छन् ।
त्यसो त यसअघि नै मन्त्री पौडेलले रोजगारदाता देशहरुले नै श्रमिकहरुको स्वास्थ्योपचारको जिम्मेवारी लिनुपर्ने प्रस्ताव समेत डब्ल्यूएचओमा राखेका छन् ।