काठमाडौं । सवारी चालक अनुमतिपत्र छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत चालक अनुमतिपत्र छपाइ गर्ने भएको हो ।
नवीकरण गरिएको लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नुपरेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले विभागलाई पटक–पटक निर्देशन दिएका थिए ।
तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न नागरिक एपमा चालक अनुमतिपत्र समावेश समेत गरिएको छ । हाल सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ ।