काठमाडौं । फेसबुकमा लामो स्ट्याटस लेखेर डा. केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका छन्। झण्डै दुई घण्टा अगाडि सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर उनी सम्पर्कविहीन भएका हुन्। उनले आफ्नो मोबाइल पनि बन्द गरेका छन्। डा. श्रेष्ठको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
डा. श्रेष्ठले आफू जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेको र आफूलाई झुटो आरोप लगाइएको साथै आफ्नो सरुवा आर्थिक चलखेलमा गरिएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्। उनी असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए।
श्रेष्ठले लेखेको लामो स्ट्याटसमा आफू डाक्टर बन्ने सङ्घर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यासविरुद्धको प्रयास र त्यसबापत आफूले भोगेको अन्यायबारे पीडा पोखेका छन्। स्वास्थ्य मन्त्रालय, केही नेताहरू र अस्पतालभित्रका कर्मचारीको मिलेमतोमा आफूलाई बदनाम र मानसिक रूपमा तनाव दिने प्रयास गरेको उनले लेखेका छन्।
फेसबुक स्ट्याटसमा उनले आफ्नी आमा, श्रीमती र छोरीसँग माफी समेत मागेका छन्।