काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मातहतका कर्मचारीहरूलाई राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा पुग्नेगरी काम गर्न निर्देशन दिएका छन्।
आइतबार गृहमन्त्रालयमा आर्थिक वर्ष २०८२/०८३ का लागि गृह सचिव, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो वर्ष काम भए पनि परिणाम आउन समय लाग्ने बताए।
उनले भने, “लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चारवटै विषय अहिले नयाँ चुनौती हुन्। विशेष काम भएको छ, परिणाम आउन केही समय लाग्ला। यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ।”
पश्चिम नेपाल भूकम्पको विस्तृत क्षति आकलन भइरहेको र चालु आर्थिक वर्षभित्र पुनर्निर्माण सक्ने गरी काम अघि बढाउन मन्त्री लेखकले निर्देशन दिएका छन्। गत वर्ष तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकोमा उनले कर्मचारीहरूलाई बधाई र धन्यवाद ज्ञापन गरे।
मन्त्री लेखकले थप भने, “अहिलेको आवश्यकता अनुसार नयाँ नीति र योजना तयार गरेर अघि बढ्नुस। सिमित स्रोत, जनशक्ति र बजेट भित्र बसेर काम गर्नुपर्छ।”
कार्यसम्पादन सामूहिक प्रयास भएको भन्दै उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने उल्लेख गर्दै मन्त्रालयको नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिएको बताए।