काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग सरकारमा सहभागिताबारे छलफल गरेकी छन् । उनले आज मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।
रुइतसँग प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व सम्हालेको भन्दै सरकारमा आउन आग्रह गरेपनि जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्नेसमेत जवाफ दिएका थिए ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेसामार्फत नागरिकको सेवामा तल्लीन हुने बताउँदै आएका छन् ।