काठमाडौं । जेन–जी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध आन्दोलनमा दमन गरेको भन्दै परेका किटानी जाहेरी प्रहरीलाई नै फिर्ता पठाएको छ ।
काठमाडाैं प्रहरी परिसरले ओली र लेखकविरुद्ध परेका किटानी जाहेरी बुझेर आयोगमा पठाएको थियो । तर बिहीबार आयोगले ती जाहेरी प्रहरीलाई नै फिर्ता गरिदिएको हो ।
‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न-गराउन नेपाल कानुनले अख्तियारी प्रदान गरेको बिदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने,’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।