काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो १५औं महाधिवेशनबाट पार्टीको नेतृत्व छोड्ने घोषणा पुनः दोहोर्याएका छन्।
जेनजी आन्दोलनपछि पहिलोपटक मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले पार्टीमा नेतृत्व हस्तान्तरणको विषय उठिरहेको उल्लेख गर्दै आफू अब सभापति पदमा नरहने स्पष्ट पार्नुभयो।
देउवाले घरमा सधैं एउटै मूली रहँदैन भन्ने दृष्टान्त दिँदै भने, “घरमा सधैं एउटै मूली रहँदैन, पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन। मैले पहिले नै भनेको छु — १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु। आउँदो महाधिवेशनपछि मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।”
उहाँले यसअघि पनि १५औं महाधिवेशनपछि नयाँ पुस्तालाई नेतृत्व दिने आफ्नो इच्छा र प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो।
पार्टीभित्र हाल नेतृत्व हस्तान्तरण र संगठन पुनर्संरचनाबारे छलफल तीव्र बन्दै गएको बेला देउवाको यो अभिव्यक्ति आएको हो।