काठमाडौं । निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्न हालसम्म ६७१ उमेदवारले मात्रै बैंक खाता खोलेका छन् । कुल ३ हजार ४०६ उमेदवारमध्ये ६७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उमेदवारको करिब २० प्रतिशत हो ।
“बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूले हालसम्म दिएको तथ्यांकअनुसार कुल ३ हजार ४०६ जना उमेदवारहरूमध्ये ६७१ जनाले बैंकहरूमा खाता खोलिसक्नुभएको छ,“ भट्टराईले भने, “त्यो संख्या भनेको करिब २० प्रतिशत हुन आउँछ ।“
राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार, आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उमेदवारहरूको बैंक खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरेको छ ।
हाल देशभर राजनीतिक दल र उमेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको भट्टराईले जानकारी दिए । उमेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ ।
खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागु गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । “बैंक तथा वित्तीय संस्थाहरूबाट यो विषयमा आयोगको अपेक्षाअनुसार नै गर्ने गरी कुराकानी आएको छ,“ उनले भने ।
वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षाअनुसारको नै सहयोग गरेको उनको भनाइ छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिनलगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको भट्टराईको भनाइ छ । यसमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उनले बताए ।

