काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिने निर्णय गरे पनि जिल्ला अदालत कास्कीले सोमबार उक्त निवेदनमाथि सुनुवाइ गर्दै तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो।
जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले सर्वोच्चको अन्तिम फैसलापछि मात्रै यसबारे निर्णय हुने स्पष्ट पारेको छ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ताको निर्णयका आधारमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो।
तर, उक्त निर्णयलाई चुनौती दिँदै युवराज पौडेल (सफल) ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चमा उक्त रिट विचाराधीन रहेकाले त्यहाँबाट हुने आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्रै थप निर्णय गरिने आदेशमा उल्लेख छ। यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धका यी दुई मुद्दा तत्काल फिर्ता नगर्ने यस्तै प्रकृतिको आदेश गरिसकेको छ।

