काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले चार जना उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ। समितिले मंगलबार सूचना जारी गर्दै छनोटमा परेका नामहरू र उनीहरूसँग गरिने छलफलको कार्यतालिका समेत सार्वजनिक गरेको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) अनुसार गठित समितिले गत २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण (बायोडाटा) माग गरेको थियो। तोकिएको म्यादभित्र परेका ४७ आवेदनमध्येबाट समितिले प्रारम्भिक छनोट गर्दै ४ जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ।
संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन्। समितिले उनीहरूलाई शुक्रबार अर्थ मन्त्रालय, सिंहदरबारमा छलफलका लागि बोलाएको छ।
छलफलपछि समितिले मन्त्रिपरिषद्समक्ष तीन जनाको नाम सिफारिस गर्नेछ। तीमध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।


