भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रमणका क्रममा दुवै भारतीय नेतालाई नेपाल आउन औपचारिक निमन्त्रणा दिएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवैले नेपाल भ्रमणप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।
लामिछानेले राजनीतिक दलहरूबीच आपसी सम्बन्ध सुदृढ गर्न तथा अनुभव आदानप्रदानका लागि यस्ता भ्रमण र निमन्त्रणाको प्रक्रिया निरन्तर चलिरहने बताए। उनले आवश्यकताअनुसार विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने परम्परा सामान्य कूटनीतिक अभ्यास भएको उल्लेख गरे।
उनले भने, “मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्षज्यूलाई र प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई पनि नेपाल आउन निमन्त्रणा गरेको छु। विभिन्न राष्ट्रका राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गर्ने क्रम निरन्तर चलिरहन्छ।”
यसैबीच, भारतमा बसोबास तथा रोजगारीका लागि रहेका नेपालीहरूले भोगिरहेका समस्याबारे बोल्दै लामिछानेले नेपाली दूतावास तथा सम्बन्धित सरकारी संयन्त्रलाई थप प्रभावकारी र चुस्त बनाउनुपर्ने आवश्यकता औँल्याए। स्वास्थ्योपचार, कागजी प्रक्रिया तथा दैनिक जीवनसँग सम्बन्धित समस्याहरू समाधान गर्न सरकारी निकायको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो।
भारत भ्रमणपछि लामिछानेको यो अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्ध र दलगत कूटनीतिक सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ।

