काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा गिरावट आउने क्रम साताको तेस्रो कारोबार दिन बिहीबार पनि जारी रहेको छ। बजार परिसूचक ५.०६ अंकले घटेर २ हजार ७००.४७ बिन्दुमा झरेको छ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार घटेर ३ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ।
नेप्सेका अनुसार बिहीबार ३४७ वटा धितोपत्रका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच भएका छन्। कारोबार भएका कम्पनीहरूमध्ये ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ। १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बिहीबार सबैभन्दा बढी मूल्य बढाउने कम्पनीमा एपोलो हाइड्रोपावर रह्यो। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२९ रुपैयाँ ७० पैसामा पुगेको छ।
यता, प्रभु बैंक डिबेन्चरको मूल्य सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ। उक्त डिबेन्चरको प्रतिकित्ता मूल्य घटेर १ हजार ७५ रुपैयाँ कायम भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। प्रतिकित्ता ३८१ रुपैयाँका दरले उक्त कारोबार भएको हो।
युनाइटेड मोदी हाइड्रोपावर २३ करोड ५ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो। समूहगत परिसूचकतर्फ बिहीबार कारोबारमा आएका १३ समूहहरूमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ समूहको परिसूचक घटेको छ। अधिकांश समूहमा दबाब देखिएसँगै समग्र बजार पनि ओरालो लागेको हो।
लगातार तीन कारोबार दिनदेखि बजारमा गिरावट देखिए पनि कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा माथि कायम रहनुले लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गरेको छ। बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताले आगामी मौद्रिक नीति, बैंकिङ क्षेत्रका सुधारका प्रस्ताव तथा आर्थिक गतिविधिसँग सम्बन्धित विषयहरूलाई नजिकबाट नियालिरहेका छन्।

