काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमतावृद्धिका लागि २२०/१३२/३३ केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ।
रामेछापका मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ। रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ। ७३ वटा टावर खडा गरिएको छ। २० किलोमिटर तार तानिएको छ। ६ वटा टावरको जग हाल्ने र ३ वटा टावर खडा गर्ने काम भइरहेको छ। रामेछापमा पर्ने तीन वटा टावरको निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ।
दोलखामा पर्ने ८४ वटा टावरमध्ये मेलुङ गाउँपालिका–७ सित्तलीमा निर्माण हुने एक वटा टावर जग्गाधनीको अवरोधका कारण निर्माण हुन सकेको छैन। अधिग्रहण गरिने जग्गाका लागि २०७७ को पुसमा प्रति रोपनी १० लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएकोमा त्यसमा असहमति जनाउँदै जग्गाधनीले निर्माणमा अवरोध गरिरहेका छन्।
सिन्धुपाल्चोकमा पर्ने ३१ वटा टावरमध्ये १३ वटाको जग हालिएको छ भने ३ वटा खडा गरिएको छ। भौगोलिक रुपमा कठिन तथा जटिल स्थानमा पर्ने बाँकी टावरहरु निर्माणका टावर निर्माणस्थलसम्म पुग्न पहुँच सडक खन्ने काम भइरहेको छ। नयाँ खिम्ती–बाह्रबिसे खण्डको समग्र निर्माण प्रगति ७० प्रतिशत रहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालय उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित उच्चस्तरीय टोलीले शनिबार स्थलगत अनुगमन भ्रमण गरी प्रसारण लाइन र सबस्टेसन निर्माण प्रगतिका बारेमा छलफल गरेको छ।
टोलीले प्रसारण लाइन निर्माणमा रुख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री तथा उपकरणहरको आपूर्ति, स्थानीयको अवरोध, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा विस्तृतरुपमा छलफल गरेको थियो। टोलीले नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन र सबस्टेसनको काम आगामी साउनभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माणमा संलग्न व्यवसायीहरुलाई निर्देशन दिएको छ।