काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५१ करोड ७४ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको छ ।
दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमार्फत गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमध्ये संघीय सरकारबाट गाउँपालिका वित्तीय समानिकरण अनुदान ८ करोड २४ लाख, सशर्त अुदान २५ करोड ४८ लाख, राजस्व वाँडफाँड तर्फ ९ करोड १४ लाख ६९ हजार, संघ समपुरक अनुदान तर्फ ३ करोड १० लाख, संघ विशेष अनुदान तर्फ १ करोड ८० लाख, प्रदेशबाट गाउँपालिका वित्तिय समानिकरण तर्फ १ करोड ९ लाख ९८ हजार, प्रदेश राजस्व बाडफाँड तर्फ, ७५ लाख ८९ हजार, प्रदेश समपुरक अनुदान तर्फ ६० लाख, प्रदेश विशेष अनुदान तर्फ ४० लाख, आन्तरिक आय तर्फ ४० लाख अनुमानित बजेट पेश गरिएको छ ।
“दोर्दीको आधार, समृद्ध पालिका–सुशासन कृषि, पर्यटन र रोजगार” भन्ने नाराका साथ आगामी वर्षको नीति कार्यक्रम गाउँपालिका अध्यक्ष युवराज अधिकारीले प्रस्तुत गरेका थिए । उनले पालिकाभित्रका रहेका आर्थिक विपन्न नागरिकको लागि स्वास्थ्य बीमा गर्ने नीति अवलम्बन गरिने बताए । त्यस्तै, जनतासँग प्रत्यक्ष सम्बन्ध र संम्पर्क राख्ने वडा कार्यालयको क्षमता विकास स्रोत साधनमा वृद्धि र प्रणालिको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ । सेवाग्राीले सहज र सरल स्रोत प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना प्रविधिको उच्चतम प्रयोग गर्न जरुरी रहेको र यस्तै विषयलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ छ ।
त्यस्तै एक वडा एक कृषि उत्पादन कार्यलाई, अगाडी बढाउँदै लौजाने नीति ल्याएको छ । कृषि योग्य जमिन बाँझो छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फलफुल खेति कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने उनले बताए ।
उनका अनुसार जलवायु मैत्री, आधुनिक तथा वैज्ञानिक कृषि, तथा पशुपालन र करार खेतिका अवसरहरु पहिचान गरि कृषकहरुलाई अधिकतम लाभ दिने व्यवस्था ल्याएको छ ।
गाउँपालिका अध्यक्ष अधिकारीले प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको विकास गरिने, पर्यटकिय विकासको सम्भावनालाई मध्यनजर गर्दै होमस्टे प्रवर्दन गरिने उल्लेख गरिएको छ । त्यस्तै, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरि पर्यटकिय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने नीति ल्याएको छ ।