काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको छ। सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनको माग गरेपछि बजेटमाथि मतदान भएको थियो। सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा पक्षमा रहेका सांसदको बहुमत भएकाले बजेट पारित भएको घोषणा गरिसकेका थिए।
लगत्तै एमालेका सचेतक महेश बर्तौलाले विपक्षमा बहुमत रहेको भन्दै मत विभाजनको माग गरेपछि सभामुख घिमिरेले मतदान हुने निर्णय सुनाएका थिए। २५५ सांसद उपस्थित रहेको बैठकमा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको घिमिरेले घोषणा गरे।
सत्तापक्षकै सांसदहरुले समेत आलोचना गरेको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समेत जवाफ दिएका थिए। संसदमा बुँदागत र मन्त्रालयगत छलफलपछि केही विषयमा संशोधन दर्ता भएका थिए।
सबै संशोधन खारेज गर्दै बहुमतले बजेट पारित भएको हो। अब सरकारलाई आगामी वर्षको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने गरी बजेट परिचालन गर्न बाटो खुलेको छ।
संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए। बजेटमा केही करका विषयमा विवाद देखिएको थियो। नेता केन्द्रित परियोजनाका लागि बजेट छुट्याएको भनेर समेत आलोचना भएको थियो। संसदको चासो सम्बोधन नगरेको भनेर विपक्षी दलदेखि सत्ता गठबन्धनका दलहरु समेतले विरोध गरेका थिए।