काठमाडौं । ६१ किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना संकलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतसहितको टोलीलाई भारत पठाएको छ ।
बुधबार सोही प्रकरणको थप सूचना संकलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले आज भारतमा पनि टोली पठाएको हो ।
अहिले भारत गएको टोलीले भारतको नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना सङ्कलन गर्नेछ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू सङ्कलन गरिरहेको बताउनुभयो । यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ ।
हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ । केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन् ।
यस्तै नेपाली, चिनियाँ र भारतीय नागरिक पनि पक्राउ परेका छन् । हङकङबाट ल्याइएको सुन भारत लैजाने तयारी गरिएको सूचना प्रहरीले प्राप्त गरेपछि हङकङ र भारतका सुन तस्करीबारे सूचना लिन प्रहरी दुवै क्षेत्रमा सूचना लिन खटाइएको हो ।
सुन प्रकरणमा प्रहरीले २५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सिआइबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।
दावा छिरिङले निमा तामाङको नाममा नागरिकता लिएको पुष्टि
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टी गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए ।
समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो ।