काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेको आरोपमा मृतकका नातेदार सहित दुई जना पक्राउ परेका छन्।
यहि कात्तिक ८ गते मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा बिहीबार दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतकका मामाका छोरा र छिमेकी गाउँका युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। पक्राउ परेका नातेदारको नाम सार्वजनिक गरिएको छैन। अर्का युवक कोहलपुरमा बस्दै आएका ३० वर्षीय गोरखबहादुर शाही रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने थापाको भनाइ छ। यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराछोरी ११ वर्षीय मनोज, आठ वर्षीया अप्सरा र आठ महीनाका रहरको हत्या भएको थियो। हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत टोली खटिएको थियो।