काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, राना गाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा पुगेका थिए।
त्यही बेला उनीहरूमाथि सोती गाउँका स्थानीयले सामूहिक आक्रमण गर्दा नवराज सहित ६ जनाको ज्यान गएको थियो। मृतक नवराज विकसहित ६ जना उनका साथीहरूको शव भेरी नदी किनारमा खोजी गर्दा फेला परेका थियाे।
सामूहिक आक्रमणबाट मृत्यु हुनेमा नवराज विक सहित उनका साथीहरू टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार,सन्दीप विश्वकर्मा र गोविन्द शाही थिए।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा, दाजु र भाइ लगायत छन्।
यस्तै, नवराजकी प्रेमिका र प्रेमिकाकी आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।