काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भइ हाल काठमाडौंको नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।
प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गरे । कारखानाबाट ७ किलो ८ सय ग्राम सुन बरामद भएको बताइएको छ ।
बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिए । अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।