काठमाडौं । भ्रष्टाटार मुद्दामा अदालतबाट दोषी ठहर भइ सजाय सुनाइएका पाँचजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई सजाय भुक्तानका लागि मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने क्रममा पाँचजना अभियुक्त पक्राउ परेका हुन्।
भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्दामा ती अभियुक्तलाई विशेष अदालत बबरमहल, काठमाडौको मिति २०७९ चैत ८ गतेको फैसलामा सजाय तोकिएको थियो।
पक्राउ पर्नेमा ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिएका विराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना तोकिएका कुमारबहादुर कटुवाललगयात छन्।
पक्राउ पर्ने अन्यमा ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिवाना तोकिएका टिकाराम अधिकारी, ८ वर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना तोकिएका देवराज नेपाल र ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना तोकिएका विराटनगर–४ का नयराज नेपाल रहेको प्रहरीले जनाएको छ।