काठमाडौं । लमजुङको सुन्दरबजारमा साता दिनअघि रात्रिभोज खाएर ३९ जना बिरामी भए । भोजमा सहभागी ४१ जनामध्ये १ जनाको मृत्यु भयो भने केही उपचाररत छन् । त्यसपछि घटनाको अध्ययनको लागि खटिएको टोलीले प्रारम्भिक नतिजा निकालेको छ ।
भोजमा सेवन गरिएका परिकारहरु मध्ये कुखुराको मासुमा विषाक्तता रहेको प्रारम्भिक नतिजाबाट देखिएको टोलीले जनाएको छ । ‘अनुमान अनुसार भोजमा मासु काट्न प्रयोग गरिएको धारिलो हतियार र अचानोबाट स्वाब निकाली परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. शशी कँडेलले भने ।
टोलीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका उपप्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट भूपदेव भट्ट, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद अर्याल र विश्व स्वास्थ्य संगठनका डा. सुजन अधिकारी सहभागी थिए । उनीहरूले प्राप्त विवरण सहितको प्रतिवेदन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्मालाई हस्तान्तरण गरेका छन् । मङ्सिर २२ गते भोज खाएकामध्ये ३२ वर्षकी महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।