काठमाडौं । जुम्लाको सिँजा क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनको नटवर्क आउने गरेको छ । झण्डै एक दर्जन टेलिफोनका टावर भएपनि घाम लागेको समयमा मात्रै नेटवर्क आउने गरेको छ । घाम गएपछि र आकाशमा बादल भएपछि सबैका हातहातमा स्मार्ट मोबाइल सेट भए पनि नेटवर्क हुँदैन ।
यो क्षेत्रका टावर सबै वैकल्पिक ऊर्जा सोलार प्रणालीबाट सञ्चालित छन् । दुई वर्षदेखि सोलारका ब्याट्री फेरिएका छैनन् । सबै सोलार ब्याट्री डाउन भइसकेकाले घाम लागे मात्रै नेटवर्क आउने गरेको हो ।
सिँजा क्षेत्रमा तीन गाउँपालिका रहेका छन् । हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक हरेक दिन झन्डै १२ घन्टा सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् ।
कनकासुन्दरीमा १३ हजार ६२५ जना, सिँजामा १२ हजार ५५६ जना र हिमा गाउँपालिकामा १२ हजार १९१ जना जनसंख्या सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् । अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पु¥याउन मान्छे नै दगुराउनुपर्ने अवस्था छ । घरनजिक टावर ठड्याएको वर्षौँ हुँदा पनि आफूहरू सञ्चारको पहुँचबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ ।
नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सूर्य यादवले यस विषयमा थप बुझेर समस्या आएको भए तुरुन्त समाधान गर्ने बताए ।