काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुनीलकुमार सिंहलाई दोषी ठहर गरेको छ। साथै, उनकी श्रीमती मीना कार्कीलाई पनि यस कसुरमा मतियार रहेको निष्कर्ष निकाल्दै उनलाई समेत सजाय सुनाइने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुवैविरुद्ध गत वर्ष मुद्दा दायर गरेको थियो। यसमा विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गर्दै सजाय निर्धारणका लागि २४ फागुनको पेसी तोकेको हो।
सिंह सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३(१)(क) बमोजिमको कार्यमा दोषी पाइएका हुन्। उक्त दफामा सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा-पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने कार्य गर्न गराउन नहुने उल्लेख छ।
सिंहले आफ्नी श्रीमती कार्कीका नाममा अपराधबाट आर्जित सम्पत्ति लुकाएको र त्यसको गैरकानुनी स्रोत लुकाउन घरजग्गा बिक्री गरेको देखिएको विशेषको ठहर छ। सिंहले उक्त सम्पत्ति अपहरण तथा शरीर बन्धकसमेतका कसुरबाट आर्जन गरेको निष्कर्षमा इजलास पुगेको हो।