काठमाडौं । नेकपा एमालेले केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ ।
पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने विषयका केही जिज्ञासा खडा भएपनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्रीले बहुमत गुमाएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे ।
संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । ज्ञवालीले सरकारबाट अप्रत्यासित हट्नु पर्दाको प्रतिशोध स्वरूप कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेको तर्क गरे ।
सचिवालय बैठकले वैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकको एजेण्डा तय गरेको छ । २१ सय ५३ महाधिवेशन प्रतिनिधि र विभिन्न आयोगका पदाधिकारीसहित २५ सय सहभागी हुने बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले सांगठनिक प्रतिवेदन पेस गर्ने ज्ञवालीले जानकारी दिए ।