काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाहरूले सूचना प्रविधिमा दक्षता हासिल गर्दै सिर्जनशील भविष्य निर्माणमा ध्यान दिनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंस्थित कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले देशको समृद्धिका लागि सूचना प्रविधिमा आधारित जनशक्तिको खाँचो रहेको उल्लेख गरे।
‘सूचना प्रविधिमा भएका उल्लेख्य प्रगतिको कारण धेरै मुलुकले तीव्र आर्थिक विकास गरेका छन्,’ मन्त्री गुरुङले भने, ‘नेपालमा पनि यस्तै सम्भावना प्रशस्तै छन्, तर दक्ष जनशक्तिको अभाव, प्रभावकारी नीति नहुनु र संरचनागत कमजोरीका कारण व्यवहारमा उतार्न चुनौती छ।’
उनले युवालाई सूचना प्रविधिको क्षेत्रमा आत्मनिर्भर हुन प्रेरित गर्दै भने, ‘अबको विकास भनेकै सूचना प्रविधिमा आधारित समृद्धि हो। यही क्षेत्रमा भविष्य देख्ने युवालाई स्वदेशमै रोजगारीको अवसर राज्यले सिर्जना गर्छ।’
उनका अनुसार सरकारले यस वर्ष सूचना प्रविधिको संरचना निर्माण, फोर जी सेवा विस्तार र फाइभ जी सुरुवात गर्न लागेको छ।
कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल (क्यान) की अध्यक्ष सुनैना घिमिरेले मेहनत गर्ने र सूचना प्रविधिमा सीप राख्ने युवाहरूले स्वदेशमै व्यवसायिक सफलता हासिल गरिरहेको उदाहरण प्रस्तुत गरिन्।
‘युवाले नवीन कार्य सुरु गरेर आयआर्जनको राम्रो अवसर सिर्जना गरेका छन्,’ उनले भनिन्, ‘क्यानले यस्ता युवालाई प्रोत्साहन र आवश्यक सहयोग गर्दै आएको छ।’
कार्यक्रममा विद्यार्थीले तयार पारेका सूचना प्रविधिसम्बन्धी परियोजना तथा नवप्रवर्तनात्मक उपकरणको प्रदर्शनी गरिएको थियो।