काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ऐतिहासिक भएकाले यसलाई मर्मत सम्भार गर्ने बताएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालाको स्तरोन्नती गर्नुका साथै पोखरा रंगशाला, सुर्खेत रंगशाला, धनगढी रंगशाला र अन्य रंगशालाहरू पुनःनिमार्ण गर्ने बताएका हुन्।
यस्तै, प्रधानमन्त्री ओलीले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए।
सरकारले महिला भलिबलका लागि पनि रंगशालाका लागि काम गरिरहेको र इन्डोर खेलका लागि पनि काम भइरहेको प्रधानमन्त्री ओलीले बताए।
उनले भने, ‘मुलपानीको क्रिकेट रगंशालाको स्तरोन्नती गर्नुका साथै कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम सदुपयोग र संरक्षण गरेर क्रिकेटलाई अघि बढाउने। नेपाललाई सबै खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले काम गर्नेछौँ। भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको रगंशाला निर्माण गर्न लागेका छौँ। स–साना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शक क्षमता अट्ने रंगशाला तयार हुनेछ। यो भन्दा दोब्बर क्षमताको रंगशाला निर्माणको काममा लागिरहेका छौँ। कीर्तिपुरको रंगशाला पूरा हुन लागेको छ।’
फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत नेपालका ७७ जिल्लाका १ हजार ७२ विद्यालयका ६ लाख भन्दा बढी विद्यार्थी यो कार्यक्रममा सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
७ देखि १४ वर्षसम्मका बालबालिकालाई फुटबलमा लाग्न प्रेरित गर्न फिफाले यो कार्यक्रमको सुरुवात गरेको हो। अहिलेसम्म विश्वका १ सय ३९ भन्दा बढी देशमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।