काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदमुक्त गर्दै पार्टीका संरक्षक रेशम चौधरीका पिता तथा सांसद लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ।
बुधबार सुरु भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गर्दै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएको थियो।
पार्टीभित्रको गहिरिँदो विवादबीच संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर आफ्नै बुवालाई पार्टीको नेतृत्वमा उभ्याएका छन्।
नयाँ अध्यक्ष चयनपछि आयोजित पत्रकार सम्मेलनमा लालवीर चौधरीले पार्टीलाई विधि, पद्धति र सक्रियताको बाटोमा लैजानका लागि यो निर्णय आवश्यक रहेको बताए। पार्टीको निर्णयमा आफूहरूले लोकतान्त्रिक प्रक्रिया अपनाएको उनको दाबी छ।
यस निर्णयसँगै नागरिक उन्मुक्ति पार्टीमा दुईवटा समानान्तर नेतृत्व देखा परेको छ। श्रेष्ठ पक्षले आफू अझै वैध अध्यक्ष रहेको दाबी गर्दै निर्णय असंवैधानिक भएको जनाएको छ भने चौधरी पक्षले आफ्नो निर्णय निर्वाचन आयोगमार्फत औपचारिकता दिने तयारी गरेको छ।