काठमाडौं। नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने १० औं विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ।
पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनका विभिन्न पक्षहरु सम्हाल्न नेताहरुलाई जिम्मेवारी दिएको हो।
पार्टी केन्द्रीय कार्यालयका प्रमुख डा. भिष्म अधिकारीका अनुसार संगठन विभागलाई १० औं महाधिवेशनबाट निर्वाचित प्रतिनिधिहरुको विवरण संकलन गर्ने जिम्मा दिइएको छ। यसमा सक्रिय सदस्य, निधन भएका र पार्टी छोड्नेहरूको तथ्यांक समेटिनेछ।
स्वास्थ्य व्यवस्थापनको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक परिचालनको काम जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले हेर्नेछन्। सचिवालय र खानपान व्यवस्थापन कार्यालय सचिव डा. भिष्म अधिकारीले सम्हाल्नेछन्।
यातायात र मञ्च व्यवस्थापन केन्द्रीय सदस्य विनोद श्रेष्ठ, प्रचार–प्रसार विभाग प्रमुख राजेन्द्र गौतम, सांस्कृतिक कार्यक्रमको व्यवस्थापन केन्द्रीय सदस्य हेमराज राईले गर्नेछन्।
महाधिवेशनमा सहभागी २ हजार २ सय ७९ जनालाई आवास व्यवस्था आफैले गर्नुपर्नेछ भने व्यवस्था गर्न नसक्ने प्रतिनिधिहरूको बसोबास सम्बन्धित जिल्ला वा प्रदेश सम्पर्क समन्वय समितिले मिलाउनेछ। समन्वयको काम सम्पर्क समन्वय विभागका इन्चार्ज लालबाबु पण्डितले गर्नेछन्।