काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन्।
उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सिक्ने अवसर मिलेको र जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरेका छन्।
निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ।’
१५ वैशाखमा प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र २ के उपनिर्वाचनमा विजयी नेकपा (एमाले) का सुहाङ नेम्बाङलाई बधाई दिएको छ।
पार्टीले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।
पार्टी महामन्त्री डा.मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यो निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने उल्लेख छ।
‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको इङ्गित गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सही समयमा घण्टी नबजाएर बजाइ दिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ।’
नतिजा आफू अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको पार्टीले सम्मान गर्ने रास्वपाले जनाएको छ। ‘नतिजा हाम्रो अनुकूल नआएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौँ। साथै, निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौँ।’