बाँके । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ ।
पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरख बहादुर राना र सोही विद्यालयकि शिक्षिका रिता चौधरीलाई जेठ १४ गते देखि लागु हुने पदबाट मुक्त गरिएको शिक्षा अधिकृत कृष्ण कुमार चौधरीले बताए ।
आइतबार केही अराजक व्यक्तिहरु संगै शिक्षकद्वय गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई भित्रै कोठामा थुनेर ताल्चा लगाएका थिए । स्थानीय केही समाजसेवी व्यक्तित्वहरुले शिक्षाको नाम जोडेर नरैनापुरमा द्धन्द गराउन केही तत्वहरु सक्रिया भएको भन्दै निन्दा गर्दै तत्काल ताल्चा खोलेका थिए ।
शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउदै एमाले स्थानीय कार्यकर्ता विनय दिक्षित सहित केही तत्वहरु कार्यालयमा प्रबेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीका लागि गाँउपालिकाले पत्रचार गरेको जनाएको छ ।
शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका लागि परेको बताउँदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा गरेको राम्रो कार्यलाई देखेर केही तत्वहरु शिक्षा क्षेत्रको बदनाम गर्न लागि परेको भन्दै उनले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढन् आग्रह गरे ।
उनले पदीय आचारण विपरित काम गर्ने शिक्षकहरुको पहिचान गरी कारबाही गर्ने बताए । पेशागत दायित्वबाट च्यूत भएको भन्दै दुई शिक्षकलाई पदमुक्त गरेको हो । उनले पद र आचरण विर्सनेलाई कारवाही गर्ने जिकिर गरे ।