काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान दिएका दिवंगत नेताहरूलाई पार्टी, व्यक्ति वा परिवार विशेषमा सीमित नगरी सम्पूर्ण राष्ट्रको नेता भनेर सम्मान गर्नुपर्ने बताएका छन्।
बालुवाटारमा आयोजित विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवंगत नेताहरूप्रति नकारात्मक टिप्पणी नगरिनुपर्ने स्पष्ट पारे। उनले भने, “जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरू माथि कुनै आरोप लगाउनु उचित हुँदैन।”
प्रधानमन्त्री ओलीले विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मदन भण्डारी जस्ता नेताहरू अब कुनै पार्टीका मात्र नभई सम्पूर्ण देशका नेता भएको बताए। उनका अनुसार देशका लागि जीवन आहूति दिनेहरूको योगदान पार्टीको सीमा भन्दा पर राखेर मूल्यांकन हुनुपर्छ।
उनले थपे, “शहीद दुर्गानन्द झालाई पनि शहीदको मान्यता दिनुपर्छ भन्ने मानेमा म अगाडि बढेको छु। शहीद भनेको मेरो–तेरो हुँदैन। नेता बाँचुन्जेल पार्टीको हुनसक्छन्, तर मरेपछि सबैको हुन्छन्।”
प्रधानमन्त्री ओलीले सबै दल र नागरिकले योगदानकर्ता नेताहरूलाई फराकिलो दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिए। उनका अनुसार गणेशमान सिंह, विपी कोईराला वा मदन भण्डारी को हुन् भन्ने प्रश्न गर्नु अघि, उनीहरूले देशका लागि के योगदान दिए भन्ने कुरामा ध्यान दिनु आवश्यक छ।
उनले भने, “मदन भण्डारी अब एमालेको नेता होइनन्, उहाँ देशको नेता हो। जसले देशलाई मार्गदर्शन गरे, योगदान दिए, उनीहरूलाई सधैं स्मरण गर्नुपर्छ, सम्मान गर्नुपर्छ। उहाँहरूका सन्दर्भमा अब कुनै आरोपित टिप्पणी गर्नु हुँदैन।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले इतिहास र योगदानलाई इमानदारीपूर्वक मूल्यांकन गर्नु राष्ट्रको साझा कर्तव्य भएको बताएका थिए।