काठमाडौं । राम–लक्ष्मण फाउण्डेसनले लमजुङ बेसीशहर नगरपालिका ११ चितिस्थित तीनपिप्लेमा रहेको जनसेवा प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कूल पोषाक, झोलालगायतका शैक्षिक सामग्री सहयोग गरेको छ ।
फाउण्डेसनको तर्फबाट शम्शेर पराजुली र बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यार्थीलाई स्कूल पोषाक, झोला, पानी खाने बोत्तल, स्टेशनरी सेट, ब्रस, दन्तमन्जन, साबुन, रुमाल, खाजालगायत विद्यार्थीलाई आवश्यक पर्ने सामग्रीका १/१ सेट प्रदान गरेका हुन् ।
फाउण्डेसनले विद्यार्थीलाई ३० सेट सामग्री सहयोग गरेको छ । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई राहतस्वरुप ८० हजार रुपैयाँ बराबरको सहयोग गरिएको राम–लक्ष्मण फाउण्डेसनका सञ्चालक एवं व्यवसायी पराजुलीले बताए ।
फाउण्डेसनले विद्यालयलाईलाई नगद १८ हजार रुपैयाँ सहयोग गरेको छ । विद्यालयको निर्माणाधिन भान्छाकोठा छाउनको लागि जस्तापाता खरिद गर्न फाउण्डेसनले उक्त रकम सहयोग गरेको जनसेवा प्राविका प्रधानाध्यापक चन्द्र सुयेलले बताए ।
अमेरिकाको बाल्टिमोरका पर्यटन दूतसमेत रहेका राजु पराजुली र व्यवसायी एवं समाजसेवी शम्शेर पराजुलीका बुबाहरुले स्थापना गरेको राम–लक्ष्मण फाउण्डेसनले प्रत्येक वर्ष शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
पुरानो घर बेसीशहर नगरपालिका २ भइ हाल राइनास नगरपालिका ९ सात तले निवासी पराजुली परिवारका अभिभावक राम–लक्ष्मणले स्थापना गरेको उक्त फाउण्डेसनले आगामी दिनमा पनि शैक्षिक तथा सामाजिक क्षेत्रको कामलाई निरन्तरता दिने फाउण्डेनका सञ्चालक पराजुलीले बताए ।
कार्यक्रममा नगरप्रमुख गुमानसिंह अर्याल, वडा नं. ११ का वडा अध्यक्ष शिवप्रसाद जोशी र विद्यालयका प्रधानाध्यापक सुयेलले सहयोगी मनहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
सहयोग प्रदान कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य फूलबहादुर थापा, अधिवक्ता डा. गजेन्द्र अर्याल, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल, विद्यालयका अभिभावक, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले गरेका थिए ।