काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रसँग प्रतिनिधिसभामा ‘जादुयी नम्बर’ भएको टिप्पणी गरेका छन्। पार्टी निकट तामाङ मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यकर्तालाई जादुयी नम्बर भएकाले थोरै छ भनेर चिन्ता गर्नुनपर्ने बताएका हुन्।
‘हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनका कारणले र हाम्रो जादुयी नम्बरका कारणले पनि,’ प्रधानमन्त्री दाहालले भने, ‘जादु नम्बर छ हाम्रो। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। त्यो जादुले अनेक गरेर मिलाइहाल्छ।’
बाहिर सरकारको आयुका विषयमा अनेक कुरा गरेर भ्रम सिर्जना गर्न कोसिस भइरहेको प्रधानमन्त्री दाहालले दाबी गरे। उनले भने, ‘बाहिर भनिराख्या जस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुरा आउँछन्। अर्कोले कुरा गर्दैछ रे, केहि दिन पछि सरकार जाँदैछ रे ! भन्ने र तपाईँ हाम्रो दिमागमा कन्फ्युजन क्रेट गर्ने पूरै कोसिस भएको छ।’
यस्तो कुरा आइरहेको आफू प्रधानमन्त्री भएदेखि नै रहेको दाहालले दाबी गरे। ‘म नै भन्थे, सायद मलाई बस्न सबै मिलेर दिन्नन होला ! जतिदिन बसिन्छ भ्रष्टाचारकाविरुद्ध पनि गतिबिधि गर्ने हो। सामाजिक न्यायका निम्ति समृद्धिका निम्ति काम गर्ने हो भनेको डेढ वर्ष भयो। म बसेकै छु,’ उनले अगाडि भने।