काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्ने समूहले संसद्मा अवरोध गरिरहेको टिप्पणी गरेका छन्। पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ शीर्षकको पुस्तक विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले गर्दै आएको लगातारको अवरोध र बहिष्कारप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली स्वयं गलत नभई त्यसको कार्यान्वयन प्रक्रियामा देखिएका केही प्रवृत्ति गलत भएको बताए। उनले लोकतन्त्रमा सरकार शासक नभई व्यवस्थापक र जनताको सेवक हुने उल्लेख गर्दै, “हाम्रो ध्येय सुशासन र समृद्धि हो। कोही अराजक नभएसम्म सरकारले कानुन लगाउनु पर्दैन, तर अराजकता देखिएमा कानुनले आफ्नो बाटो लिनैपर्छ,” भने।
उनले संविधान र कानुनभित्र बसेर विचार राख्न पाउने लोकतान्त्रिक व्यवस्थामा, व्यवस्थाविरुद्ध आगो लगाउने प्रवृत्तिलाई अस्वीकार्य बताएका छन्।
निर्वाचन प्रणाली खर्चिलो भएको भन्ने टिप्पणीको खण्डन गर्दै प्रधानमन्त्री ओलीले विगतमा गृहमन्त्री र प्रधानमन्त्री रहँदा कुनै पनि निर्वाचनमा हस्तक्षेप नगरेको स्पष्ट पारे। उनले आफूले स्वच्छ निर्वाचनको पक्षमा सदैव समर्थन गरेको दाबी गर्दै, निर्वाचन आयोगलगायत निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिएकाे बताए।