काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमी खण्डमा २८ प्रतिशत भौतिक प्रगति भएको छ ।
असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडिएको छ । हाल पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले बताए ।
पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनियर पाण्डेले बताए ।