काठमाडौं । सरकारले नेपाल र चीनबीच भएको बिआरआई फ्रेमवर्क सम्झौता सार्वजनिक गरेको छ। मंगलबार परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत उक्त दस्तावेज सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएको दस्तावेजअनुसार आर्थिक सहकार्य, यातायात र कनेक्टिभिटी, व्यापार औद्योगिक विकास र लगानी, भन्सारमा सहकार्य गर्ने विषयलाई प्राथमिकतामा राख्ने उल्लेख छ।
‘चिनियाँ पक्षले नेपालको विकासमा सहयोग गर्न प्राविधिक र आर्थिक सहयोग गर्नेछ,’ फ्रेमवर्कमा उल्लेख छ, ‘दुबै पक्षको आवश्यकताका आधारमा परियोजनाहरूमा प्राविधिक सहयोग र ‘एड फाइनान्सिङ मोडालिटी’ तयार पारिनेछ।’
बिआरआई फ्रेमवर्क अन्तर्गत चिनियाँ पक्षबाट नेशनल डेभलपमेन्ट फर रिफर्म कमिसन र नेपालको पक्षबाट परराष्ट्र मन्त्रालयले नेतृत्व गर्ने उल्लेख छ। ‘फ्रेमवर्क फर बिआरआई कोअपरेशन सम्झौता भएकै दिनदेखि कार्यान्वयनमा आउने पनि दस्तावेजमा उल्लेख छ।
‘यो फ्रेमवर्क सम्झौता भएकै दिनदेखि सक्रिय हुनेछ। यो तीन वर्षसम्म लागू हुन्छ र अर्को तीन वर्षका लागि स्वतः समयसीमा बढ्नेछ,’ दस्तावेजमा उल्लेख छ, ‘सम्झौता अन्त्य गर्न परेमा, रद्द गर्न चाहने पक्षले तीन महिना अघि नै जानकारी दिनुपर्नेछ।’
सम्झौताको पूर्ण पाठ मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ ।