काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रूपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तःशुल्क, स्मार्टकार्ड, लालपुर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले बताए ।
त्यस्तै बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । नागढुंगा सुरुङ मार्ग आयोजना अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने निर्णय भएको उनले बताए ।
बैठकले नेपाल सरकार र भारत सरकारबिच हस्ताक्षर हुने खानेपानी, सरसफाइ सम्बन्धी क्षेत्रको विकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ । राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।